पूर्वमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति निधन भएको हो।

काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ र निष्ठावान नेताका रूपमा परिचित थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका उनले नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन तथा २०६२र०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। प्रजातन्त्र र लोकतन्त्रको पक्षमा संघर्ष गर्दै उनले विभिन्न समयमा गरी करिब नौ वर्ष जेल जीवनसमेत बिताएका थिए।

२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शिक्षा क्षेत्रमा पूर्वाधार विस्तार, विद्यालय सुधार तथा शिक्षक दरबन्दी व्यवस्थापनमा उनले उल्लेखनीय योगदान पुर्‍याएको स्मरण गरिन्छ। राजनीतिक जीवनमा सादगी, इमानदारी र नैतिकताका लागि परिचित खरेलले संसद विघटनपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए। कांग्रेस नेतृत्वसँग निकट रहेर काम गरेका उनी बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका विचारबाट प्रेरित नेता मानिन्थे।

उनको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। खरेलका छोरा महेश खरेल हाल पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं। २ का सभापति हुन्। दिवंगत खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ भने दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

Back To Top
Modern Footer Design