अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको छ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए। यसअघि पनि केप भर्डेले स्पेनसँग बराबरी खेलेर प्रभावशाली प्रदर्शन गरेको थियो।
खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए। तर ४४औं मिनेटमा म्याक्सी अराजोले गोल फर्काउँदै उरुग्वेलाई खेलमा फर्काए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरबीच तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेलाले अवसरको फाइदा उठाउँदै बराबरी गोल गरे। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल २–२ को बराबरीमा सकियो।
खेलमा बल नियन्त्रण र आक्रमण दुवै पक्षमा उरुग्वे हाबी देखिए पनि त्यसलाई जितमा परिणत गर्न सकेन। उरुग्वेले केप भर्डेभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै बढी प्रहार पनि गरेको थियो। खेलपछि केप भर्डेका प्रशिक्षक बुबिस्टाले टोलीको साहसी प्रदर्शनको प्रशंसा गर्दै खेलाडीप्रति विश्वास व्यक्त गरे। यता उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले खेलको तीव्रता कायम राख्न नसक्दा टोलीले अपेक्षित नतिजा हात पार्न नसकेको बताए। यो बराबरीसँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले दुई खेलबाट समान २ अंक जोडेका छन्। चार अंकसहित स्पेन समूहको शीर्ष स्थानमा रहेको छ भने साउदी अरेबियाको खातामा एक अंक रहेको छ।
