विशेष शिक्षकलाई स्थायी शिक्षकसरह सेवा–सुविधा, एकमुष्ट सुविधा पनि पाउने व्यवस्था

काठमाडौँ । सरकारले विशेष शिक्षक दरबन्दीसम्बन्धी नयाँ व्यवस्था गर्दै उनीहरूको सेवा, सुविधा र नियुक्तिसम्बन्धी प्रावधान स्पष्ट गरेको छ।

शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ अनुसार विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दी अब विशेष शिक्षक दरबन्दीका रूपमा रूपान्तरण हुनेछन्। नियमावलीअनुसार कायम भएका विशेष शिक्षक दरबन्दी राष्ट्रिय किताबखाना (शिक्षक)मा विशेष दरबन्दीका रूपमा दर्ता गरिनेछ। त्यस्ता पदमा शिक्षक सेवा आयोगको सिफारिसका आधारमा पदपूर्ति हुनेछ। शिक्षा मन्त्रालयले आवश्यकता अनुसार विशेष विद्यालय तथा स्रोतकक्षा सञ्चालन भएका विद्यालयमा ती दरबन्दी वितरण गर्ने व्यवस्था गरेको छ। यसरी नियुक्त हुने विशेष शिक्षकले नियुक्ति, सेवा–सर्त र अन्य सुविधा साधारण विद्यालयका स्थायी शिक्षकसरह प्राप्त गर्ने नियमावलीमा उल्लेख छ।

यस्तै, विशेष शिक्षा परिषद्बाट स्थायी नियुक्ति प्राप्त गरी निरन्तर सेवा गरेका र पछि सेवाबाट अलग भएका वा भइसकेका शिक्षकलाई ६० वर्षको उमेर ननाघ्ने गरी एकमुष्ट सुविधा उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ। नियमावलीअनुसार पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका शिक्षकले काम गरेको प्रत्येक वर्षका लागि अन्तिम आधा महिनाको तलब बराबर रकम पाउनेछन्। १० वर्षभन्दा बढी र १५ वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षका लागि अन्तिम एक महिनाको तलब उपलब्ध गराइनेछ। त्यसैगरी, १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकले काम गरेको प्रत्येक वर्षका लागि अन्तिम डेढ महिनाको तलब बराबरको एकमुष्ट सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

Back To Top
Modern Footer Design