सबै समूहमा गिरावट, नेप्से १९.६७ अंक घटेर २६०१ मा झर्‍यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि ओरालो लाग्दै १९.६७ अंकले घटेर २६०१.०१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ३० अंकले घटेको बजारले लगातार दोस्रो दिन पनि गिरावट कायम राखेको हो।

कारोबार रकम पनि केही घटेको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित रह्यो। आजको कारोबारमा ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारका सबै समूहगत सूचकहरू नकारात्मक बनेका छन्। बैंकिङदेखि विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य तथा व्यापार समूह सबैमा गिरावट देखिएको हो।

व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्तको सेयर मूल्य १२.६८ प्रतिशत र स्नो रिभर्सको ११.७६ प्रतिशतले बढेको छ। त्यस्तै जनउत्थान लघुवित्त र त्रिशुली जलविद्युत्को सेयर मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। विपरीत रूपमा सालपा विकास बैंक, थ्रीस्टार हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे। कारोबार रकमका आधारमा डिबेन्चर शीर्ष स्थानमा रहँदा रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स ९संस्थापक०, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्सका सेयरमा उल्लेख्य कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन पनि बजारमा दबाब देखिएको हो। संस्थाको वित्तीय अवस्थाका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था मौद्रिक नीतिमा समेटिएपछि लगानीकर्तामा केही अन्योलता बढेको विश्लेषण गरिएको छ। हाल १८० दिनको औसत मूल्य वा बजारको हालको मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म मात्रै सेयर धितो कर्जा उपलब्ध गराउने व्यवस्था कायम छ। यता, असार मसान्त नजिकिएकाले बैंकको साँवा र ब्याज तिर्नुपर्ने दबाबका कारण पनि धेरै लगानीकर्ताले सेयर बिक्री गरेको विश्लेषण गरिएको छ। शुक्रबारसम्म बिक्री गरिएको सेयरको रकम असार मसान्तअघि खातामा प्राप्त हुने भएकाले त्यसले पनि बजारमा बिक्री चाप बढाएको मानिएको छ।

Back To Top
Modern Footer Design