फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै १६ वर्षपछि स्पेन फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै १६ वर्षपछि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै संयमित र प्रभावशाली प्रदर्शन गर्‍यो। पहिलो गोल २२औँ मिनेटमा पेनाल्टीमार्फत आयो। युवा विङ्गर लामिन यामाललाई फ्रान्सका लुकास डिनले पेनाल्टी क्षेत्रमा फल गरेपछि स्पेनले अवसर पाएको थियो। उक्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट पास आदान–प्रदान गर्दै सुन्दर गोल गरेपछि स्पेनको अग्रता दोब्बर बन्यो खेलको सुरुवातमा फ्रान्सले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा बदल्न सकेन। किलियान एम्बाप्पेको नेतृत्वमा आक्रमण गर्ने प्रयास भए पनि स्पेनका गोलरक्षक उनाई सिमोन र रक्षकहरूले मजबुत प्रदर्शन गर्दै फ्रान्सलाई कुनै पनि गोल गर्न दिएनन्।

दोस्रो हाफमा फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा उतार्दै खेलमा फर्कने प्रयास गरेको थियो। तर स्पेनको सुदृढ रक्षापंक्तिका कारण फ्रान्स सफल हुन सकेन। खेलभर फ्रान्सले केवल दुई पटक मात्र लक्ष्यमा प्रहार गर्न सफल भयो। सन् २०१० मा विश्वकप जितेको स्पेन त्यसयता पहिलो पटक फाइनलमा पुगेको हो।अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Back To Top
Modern Footer Design