काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मङ्गलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार सहनी केही दिनदेखि मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सहनीको घाँटीदेखि तल शरीरको करिब ३१।५ प्रतिशत भाग जलेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
