काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा उत्तरतर्फ रहेकाले मौसमको प्रभाव देशभर देखिएको हो।
हाल अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ। त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका थोरै स्थान, कर्णालीका पहाडी भू–भाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
