काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२ का २५ वर्षीय जनविर बुढा र सोही स्थानकी २९ वर्षीया मिजरा बुढा गम्भीर घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, हिमाली गाउँपालिका–२ की २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुष्मा बुढा सामान्य घाइते भएका छन्। सोमबार दिउँसो बाजुराको हिमाली गाउँपालिका–५ स्थित धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १८१७ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
