पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विभिन्न कार्यक्रम हुँदै

काठमाडौँ। नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थापना गरेका थिए। त्यसअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए।

विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालले लामो समय प्रवासमा बसेर नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठित र विस्तार गर्ने काम गरेका थिए। उनी प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठका भाइ पनि हुन्। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। साथै, उनले विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गरेका थिए।

उनले पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेससहितका प्रजातान्त्रिक शक्तिसँग सहकार्य गरेर संयुक्त जनआन्दोलन सञ्चालन गर्नुपर्ने धारणा अघि सारेका थिए। उपचारका क्रममा उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा निधन भएको थियो। उनको योगदानको स्मरण गर्दै आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि सभा, विचार गोष्ठी तथा स्मृति कार्यक्रम आयोजना गरेका छन्।

Back To Top
Modern Footer Design