६४ वर्षपछि जनारसी देवीले पाइन् नेपाली नागरिकता

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीकी ६४ वर्षीया जनारसी देवी पासवानले लामो प्रतीक्षापछि नेपाली नागरिकता प्राप्त गरेकी छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट मंगलबार नागरिकता प्राप्त गरेसँगै उनी कानुनी रूपमा नेपाली नागरिकको पहिचान स्थापित गर्न सफल भएकी हुन्। वडाध्यक्ष केशवकुमारका अनुसार नागरिकता दिलाउन आवश्यक कागजात संकलन, सम्बन्धित निकायसँग समन्वय र कानुनी प्रक्रिया पूरा गर्न करिब छ महिनासम्म निरन्तर पहल गरिएको थियो। नागरिकता नहुँदा जनारसीले दैनिक प्रशासनिक कामकाजदेखि राज्यबाट प्राप्त हुने विभिन्न सेवा–सुविधा लिनसमेत कठिनाइ भोग्दै आएकी थिइन्। उनका श्रीमानको यसअघि नै निधन भइसकेको छ भने उनका दुई छोरा र एक छोरी छन्।

वडाध्यक्ष केशवकुमारले आफ्नो कार्यकालमा वडाभित्र कुनै पनि नागरिक नागरिकताविहीन नरहून् भन्ने लक्ष्यसहित काम गरिरहेको बताउँदै आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कठिनाइ भोगिरहेका नागरिकलाई प्रत्यक्ष सहजीकरण गर्दै आएको जानकारी दिए। यद्यपि, सर्लाहीको धनकौल, रामनगर, बलरालगायत पश्चिमी क्षेत्रका स्थानीय तहमा अझै पनि उमेर ढल्किएका केही नागरिक नागरिकताविहीन रहेको पाइएको छ।

Back To Top
Modern Footer Design