काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत अवस्थामै रहेकाले मौसममा यसको प्रभाव कायम छ। अहिले देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका भू–भागमा आंशिक बदली देखिएको छ। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाaडी क्षेत्रमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली एवं पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
