काठमाडौँ। देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
पूर्वानुमानअनुसार हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
