बाजुरामा पहिरोमा बेपत्ता २० वर्षीया थापा मृत फेला

बाजुरा । अविरल वर्षापछि गएको पहिरोमा परी बेपत्ता भएकी बाजुराकी २० वर्षीया प्रतीक्षा थापा मृत अवस्थामा फेला परेकी छन्। त्रिवेणी नगरपालिका–ताम्सुमा पहिरोले पुरिएर बेपत्ता भएकी थापाको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पहिरोले पुरिएको अवस्थामा उनको शव भेटिएपछि ताम्सु गाउँ शोकमा डुबेको छ। बिहीबार रातिदेखि परेको लगातारको वर्षापछि ताम्सुमा घरमाथिबाट पहिरो खसेको थियो। पहिरोमा परी धौलीदेवी रावल र धर्म थापा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। प्रहरीका अनुसार पहिरोले ताम्सुमा धर्म थापा र कर्णबहादुर थापाको घरसमेत पुरिएको छ। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको नेतृत्वमा १७ जना प्रहरी आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा परिचालन गरिएको थियो।

उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि सक्रिय रहेको छ। पहिरोका कारण बस्ती अझै जोखिममा रहेकाले घटनास्थलको अवस्थाबारे जानकारी लिन, घाइतेको उपचार तथा उद्धार व्यवस्थापन गर्न र प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि त्रिवेणी नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहितको टोली पनि घटनास्थलमा पुगेको छ। यस्तै, भारी वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। बुढीगंगा नगरपालिका–२ मा घर तथा पसलमा क्षति पुगेको छ भने गौमुल गाउँपालिका–२ मा एउटा घर भत्किएको छ। वर्षाका कारण पैदल बाटाघाटा अवरुद्ध भएका छन् भने विभिन्न सडकखण्डमा पहिरो र पानीका कारण आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ। बाजुरामा हरेक वर्ष वर्षायाममा बाढी तथा पहिरोका कारण जनधनको क्षति हुने गरेको छ।

Back To Top
Modern Footer Design