मनाङ । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं. ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माणको सम्झौता भएको एक दशक बितिसक्दा पनि पुलले पूर्णता पाउन सकेको छैन।
मर्स्याङ्दी नदीमाथि निर्माणाधीन पुल समयमै नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले हालसम्म करिब ७० प्रतिशत रकम भुक्तानी लिइसकेको छ। तर निर्माणको गति भने निकै सुस्त रहेको कार्यालय प्रमुख हरि थापाले बताए। पटक–पटक म्याद थप गरिए पनि अपेक्षाअनुसार काम अघि बढ्न नसकेको उनको भनाइ छ।
विसं २०७३ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित करिब चार करोड रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो। यो पुल माथिल्लो मनाङ जोड्ने मुख्य सडकखण्डमा पर्ने भएकाले स्थानीयवासीका लागि महत्वपूर्ण मानिन्छ। पुल नबन्दा गाउँपालिका कार्यालय पुग्नसमेत स्थानीयले लामो समय खर्चिनुपरेको वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताए। स्थानीय मुखिया लामाका अनुसार पुल बनेमा केही मिनेटमै गाउँपालिका कार्यालय पुग्न सकिने भए पनि अहिले लामो बाटो घुमेर जानुपर्ने अवस्था छ। निर्माणमा ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले काम अघि बढाउन नसक्ने ठेकेदारसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत निर्माण सम्पन्न गर्न माग गरेका छन्।
पुल निर्माणमा भएको ढिलाइले अन्य विकास निर्माणका कामसमेत प्रभावित भएको उनीहरूको भनाइ छ। जिल्ला अनुगमनका क्रममा मनाङका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल निर्माण अघि बढाउन निर्देशन दिएका छन्। उनले पुल निर्माण सम्पन्न भएपछि मात्रै कामको मूल्याङ्कन गरी भुक्तानी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन्। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक निर्माण कम्पनीलाई काम पूरा गर्न आग्रह गरे पनि अपेक्षित प्रगति हुन नसकेको बताए। पर्यटकीय जिल्ला मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण नहुँदा स्थानीयवासीसँगै पर्यटकले समेत आवतजावतमा समस्या भोग्नुपरेको पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले बताए।
