महाधिवेशन रोक्न कांग्रेस इतर समूह सर्वोच्च जाने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको भन्दै इतर समूहले त्यसविरुद्ध कानुनी बाटो रोज्न लागेको हो। इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशनका गतिविधि तत्काल रोक्न माग गर्दै अदालत जाने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार अदालतमा विषय विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले त्यसलाई एकतर्फी रूपमा अघि बढाउनु उचित नहुने समूहको निष्कर्ष छ।

विश्वकर्माका अनुसार समूहले नेता रमेश लेखकको संयोजकत्वमा गठन गरेको कानून तथा विधान समितिमार्फत सर्वोच्चमा निवेदन दर्ता गराउने तयारी गरिएको छ। यद्यपि, अदालत जाने निश्चित मिति भने तय भइसकेको छैन। नयाँ कार्यतालिका सार्वजनिक भएकाले एक–दुई दिनभित्र कानुन तथा विधान समितिले आवश्यक प्रक्रिया अघि बढाउने सम्भावना रहेको उनले बताए। यसअघि इतर समूहको राष्ट्रिय भेलाका मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले २६ साउनमा महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई लिखित आग्रह गरेका थिए। कोइरालाले पठाएको पत्रमा १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको थियो। सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक, नीतिगत वा आर्थिक निर्णयहरू यथास्थितिमा राख्न पनि आग्रह गरिएको थियो।

त्यस्तै, सर्वोच्चको पूर्ण इजलासबाट अन्तिम फैसला नभएसम्म कांग्रेसको सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा कायम राख्दै अदालतको प्रक्रिया र गरिमालाई सम्मान गर्न पत्रमार्फत आग्रह गरिएको थियो। कानुनी प्रक्रियाविपरीत गतिविधि भए त्यसबाट उत्पन्न हुने जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत पत्रमा दिइएको थियो। सर्वोच्च अदालतले २१ साउनमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि अनुमति दिएको थियो। उक्त अनुमतिसँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः प्रारम्भिक चरणबाट सुनुवाइ हुने अवस्था बनेको छ। यही अवस्थामा पार्टीले महाधिवेशनको प्रक्रिया अघि बढाएपछि इतर समूहले त्यसलाई रोक्न अदालतको ढोका ढकढक्याउने तयारी गरेको हो।

Back To Top
Modern Footer Design