‘चिठ्ठामा परेर संसद् आएको’ टिप्पणीप्रति आशिका तामाङको नियमापत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू ‘चिठ्ठामा परेर संसद् आएको’ भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर त्यसप्रति आपत्ति जनाएकी हुन्। सांसद तामाङले आफूहरू कुनै चिठ्ठा प्रक्रियाबाट नभई जनताको मतबाट निर्वाचित भएर संसद्मा आएको स्पष्ट पारिन्। उनले सांसद सिद्धिकीलाई आफ्नो अभिव्यक्तिको प्रमाण प्रस्तुत गर्नसमेत चुनौती दिइन्।

‘हामी चिठ्ठामा परेर आएको भन्नुभएको छ। त्यसको प्रमाण दिनुपर्छ। हामीलाई जनताले जिताएर पठाएका हुन् कि चिठ्ठामा परेर आएका हौँ, प्रमाणसहित भन्नुपर्छ,’ तामाङले भनिन्। उनले आफूहरू पनि जनताबाट निर्वाचित भएर संसद्मा आएको भन्दै सांसद सिद्धिकीले प्रयोग गरेको भाषाशैलीप्रति असन्तुष्टि जनाइन्। आफूहरू जुन प्रक्रियाबाट निर्वाचित भएका हुन्, सोही प्रक्रियाबाट अन्य सांसद पनि निर्वाचित भएको उनको भनाइ थियो। तामाङले सांसद सिद्धिकीको उक्त अभिव्यक्ति संसद्को मर्यादासँग मेल नखाने भन्दै सभाको रेकर्डबाट हटाउनसमेत माग गरिन्।

Back To Top
Modern Footer Design