बाढीपीडितको उद्धार र राहतमा सरकारको नेतृत्व आवश्यक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढीपहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपद्को सामना गर्न सरकारको प्रभावकारी नेतृत्व र समाजको सामूहिक सहयोग आवश्यक रहेको बताएका छन्।

प्रभावित क्षेत्रको अवस्था अवलोकन गरेपछि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै थापाले विपद्को समयमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए। स्थलगत भ्रमणका क्रममा आफूले अत्यन्त पीडादायी अवस्थाको सामना गरिरहेका परिवार तथा बालबालिकालाई भेटेको उनले बताए। एक अनाथ बालकले ‘बाटो कहिले बन्छ ?’ भनेर सोधेको प्रसंग सुनाउँदै थापाले बालकका आमाबुबा र हजुरआमा नै बाढीमा परेर ज्यान गुमाएको उल्लेख गरे।

उनका अनुसार बालकलाई बाटो बिग्रिएका कारण आफन्त आउन नसकेको र बाटो बनेपछि आउने भन्दै सम्झाउनुपरेको थियो। विपद्ले पुर्‍याएको मानवीय क्षतिको यो एउटा प्रतिनिधि उदाहरण भएको उनको भनाइ छ। देवीघाट र सेरखानी क्षेत्रका स्थानीयले आफन्तहरू सुरुङभित्र थुनिएको तथा आसपास शवको गन्ध आइरहेको भन्दै उद्धारका लागि गरेको आग्रहले आफूहरूलाई निकै भावुक बनाएको थापाले बताए। कतिपय परिवारले घरजग्गा, व्यवसाय र सम्पूर्ण सम्पत्ति गुमाएका कारण अब कसरी जीवन अघि बढाउने भन्ने चिन्तासमेत व्यक्त गरेको उनले बताए।

थापाले केन्द्र सरकारबाट सीमित सहयोग उपलब्ध भइरहे पनि स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरूले जोखिम मोलेर उद्धार तथा राहतमा पुर्‍याएको योगदानको प्रशंसा गरे। गल्छी, विदुर, कोलोनी र दुप्चेलगायतका क्षेत्रका जनप्रतिनिधिले विपद्को समयमा सक्रिय भूमिका निर्वाह गरेको उनले उल्लेख गरे। त्यस्तै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तथा अन्य सांसदहरूले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण, खानेपानीको व्यवस्था र अस्थायी विद्यालय सञ्चालनका लागि गरेको पहल पनि सकारात्मक रहेको थापाले बताए।

राहतमा खाद्यान्नसँगै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिनुपर्ने

थापाले विपद्पछि प्रभावित परिवारलाई चामल र दाल वितरण गरेर मात्रै राहतको दायित्व पूरा नहुने बताए। प्रभावित बस्तीमा तत्काल सरसफाइ र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनले अस्थायी शौचालय निर्माण, दीर्घरोगीका लागि नियमित औषधि, व्यक्तिगत सरसफाइका सामग्री तथा आवश्यक कपडाको व्यवस्था गर्नुपर्नेमा जोड दिए। त्यसैगरी विपद्का कारण प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असरलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए। लामो समयसम्म विद्यालय सञ्चालन हुन नसक्ने अवस्था आएमा अस्थायी कक्षाकोठा बनाएर बालबालिकाको पढाइलाई निरन्तरता दिनुपर्ने थापाको सुझाव छ।

आवश्यकता पहिचान गरेर राहत वितरण गर्न सुझाव

कांग्रेस सभापति थापाले संघीय सरकारले तीनै तहका सरकारबीच समन्वय गर्दै राहत तथा पुनःस्थापनाको नेतृत्व लिनुपर्ने बताए। प्रभावित क्षेत्रमा कुन वस्तुको कति आवश्यकता छ भन्ने स्पष्ट विवरण संकलन गर्न डिजिटल पोर्टल निर्माण गर्नुपर्ने उनको सुझाव छ। त्यस्तो प्रणालीमार्फत वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत सामग्री पठाउने व्यवस्था गर्न सके राहत वितरण थप प्रभावकारी हुने उनको भनाइ छ। विपद्को तत्कालीन उद्धारसँगै प्रभावित परिवारको पुनःस्थापना, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनलाई समेत सरकारले प्राथमिकतामा राख्नुपर्ने थापाले बताएका छन्।

Back To Top
Modern Footer Design