त्रिशूली–३ ‘ए’ को सुरुङबाट थप एक शव निकालियो

काठमाडौं । दुई जनालाई जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट थप एक जनाको शव निकालिएको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीले सुरुङभित्र फेला परेको शव बाहिर निकालेका हुन्। आयोजनाका प्रमुख आवाश ओझाका अनुसार निकालिएको शवको पहिचान भने अझै हुन सकेको छैन।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि आयोजनाको सुरुङ तथा भूमिगत विद्युत् गृह क्षेत्रमा धेरै मानिस फसेको आशंका गरिएको थियो। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएको छ। यसअघि सोही सुरुङबाट विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ। सेनाका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश विद्युत् गृहकै क्षेत्रमा रहेको आशंका गरिएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति फसेका हुनसक्ने भन्दै उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ। भूमिगत विद्युत् गृह क्षेत्रमा प्रवेश गरी थप व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर खोज तथा उद्धार अभियान जारी राखिएको छ।

Back To Top
Modern Footer Design