काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपीजी ग्यासको सम्भावित अभाव रोक्न उद्योगीहरूले वैकल्पिक व्यवस्था अघि बढाएका छन्।
नेपाल आयल निगमको अनुमतिपछि उपत्यकाबाहिरका प्लान्टमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग सङ्घले मकवानपुरका ट्रक व्यवसायीसँग समन्वय गर्दै ग्यास ढुवानीलाई सहज बनाउने प्रयास गरिरहेको जनाएको छ। सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर पर्याप्त नभएकाले काठमाडौंमै रहेका खाली सिलिन्डर ट्रकमार्फत बाहिर पठाउने र ग्यास भरेर पुनः काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
नेपाल ग्यासले चितवनस्थित नेपाल ग्यास गण्डकीको प्लान्टबाट आफ्ना सिलिन्डरमा ग्यास भर्न थालेको छ। काठमाडौंमा दैनिक करिब ११ हजार सिलिन्डर बिक्री गर्दै आएको उक्त उद्योगले केही दिनभित्र दैनिक ८ देखि १० हजार सिलिन्डर उपत्यकामा ल्याउने तयारी गरेको छ। तर रातिको समयमा कान्ति लोकपथमा सवारी आवागमनमा रोक लगाइएकाले खाली सिलिन्डर बोकेका ट्रक काठमाडौं बाहिर पठाउन केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताएका छन्।
हाल विभिन्न ग्यास कम्पनीले परासी, हेटौँडा, गैँडाकोटलगायतका स्थानमा रहेका प्लान्टबाट सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्। उपत्यका तथा आसपासका क्षेत्रमा हाल १६ वटा ग्यास उद्योग सञ्चालनमा छन्। सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुन्छ। तर सडक अवरोधका कारण आपूर्तिमा असर पर्ने आशंकाले माग बढेर दैनिक १ लाख सिलिन्डरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
उद्योग तथा ढुवानीको व्यवस्थापनमा आफूहरूले समन्वय गरिरहेकाले केही दिनभित्रै आपूर्ति सहज हुने चन्दले बताएका छन्। उनले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर मौज्दात नराख्न आग्रह गरेका छन्। नेपालमा रहेका ५८ वटा ग्यास उद्योगबाट उत्पादित ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको छ। त्यस्तै, गत महिना भारतबाट हालसम्मकै उच्च ६० हजार २०० मेट्रिकटन ग्यास आयात भएकाले बजारमा ग्यास अभाव हुने अवस्था नरहेको सङ्घको दाबी छ।
साल्ट ट्रेडिङले पनि वैकल्पिक व्यवस्था मिलायो
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्ना एसटीसी सिलिन्डरमा ग्यासको आपूर्ति नियमित राख्न निजी ग्यास कम्पनीसँग सहकार्य थालेको छ। धादिङको जुगेखोलामा रहेको कर्पोरेशनको एलपीजी प्लान्ट जाने सडक अवरुद्ध भएपछि बाबा र मनोज ग्यासका प्लान्टमा एसटीसीका सिलिन्डर भरेर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले उपलब्ध गराउने कुल ३ हजार २५ वटा ग्यास बुलेटको कोटामध्ये साल्ट ट्रेडिङले २ प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र पाउँदै आएको छ। कर्पोरेशनले अहिले कुपन प्रणालीमार्फत ग्यास बिक्री तथा वितरण गर्दै आएको जनाएको छ।
