काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति बुधबार केही सहज भएको छ ।
नेपाल आयल निगमको एलपीजी विभागका अनुसार मंगलबारको तुलनामा बुधबार उपत्यकामा ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेको हो । बुधबार २२ वटा ग्यास उद्योगले डिलरमार्फत कुल ४६ हजार ९ सय ७६ सिलिन्डर बजारमा पठाएका छन् । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले वैकल्पिक बाटोका रूपमा त्रिभुवन राजपथ प्रयोग गर्दै आएका छन् । घुमाउरो तथा कठिन सडकमार्गबाट ग्यास ढुवानी गर्नुपर्दा उपत्यकाको मागअनुसार आपूर्ति गर्न अझै चुनौती रहेको व्यवसायीहरूको भनाइ छ ।
मंगलबार भने उपत्यकामा ७ वटा ग्यास कम्पनीका १५ हजार ९ सय ९४ सिलिन्डर मात्रै डिलरसम्म पुगेका थिए । बुधबारको वितरण त्यसको तुलनामा करिब तीन गुणा बढी हो । निगमका अनुसार बुधबार सबैभन्दा धेरै ग्यास श्री ग्यास उद्योग प्रालिले बजारमा पठाएको छ । श्री ग्यासले ९ हजार ८ सय ९९ सिलिन्डर वितरण गरेको छ ।त्यसपछि नेपाल ग्यासले ६ हजार ८ सय ७६, एभरेस्ट ग्यासले ३ हजार ९ सय ५३, सगरमाथा ग्यासले ३ हजार ३ सय ३८, ओम ग्यासले २ हजार ५ सय ६७, मेट्रो काठमाडौं ग्यासले २ हजार ४ सय ५८ र श्रीराम ग्यासले २ हजार १ सय ७० सिलिन्डर बजारमा पठाएका छन् । अन्य कम्पनीतर्फ हिमालय पेट्रोकेमिकल्सले १ हजार ९ सय १, सुगम ग्यासले १ हजार ८ सय ९०, गौरीशंकर ग्यासले १ हजार ७ सय ८६, सीताश्री ग्यासले १ हजार ६ सय ९५ र काब्सोन्स इन्डस्ट्रिजले १ हजार ६ सय ६१ सिलिन्डर डिलरहरूसम्म पुर्याएका छन् ।
त्यस्तै, साईबाबा ग्यासले १ हजार ४ सय १०, भानु ग्यासले ९ सय ७१, श्रीकृष्ण ग्यासले ९ सय २४ र सिद्धार्थ ग्यासले ७ सय ५० सिलिन्डर बजारमा पठाएका छन् । सबैभन्दा कम वितरण गर्ने कम्पनीमा मारुती ग्यास रहेको छ । उसले ३ सय १५ सिलिन्डर मात्र बजारमा पठाएको छ । ग्यास वान नेपालले ३ सय ३८, सूर्य ग्यासले ४ सय ३४, नमस्ते ग्यासले ५ सय, गिता ग्यासले ५ सय ४० र उग्रचण्डी ग्यासले ६ सय सिलिन्डर वितरण गरेका छन् । व्यवसायीहरूका अनुसार त्रिभुवन राजपथबाट ग्यास ढुवानी गर्नु सहज छैन । तर, उपभोक्ताको मागलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा ग्यास आपूर्ति नियमित र सहज बनाउन निरन्तर प्रयास भइरहेको छ ।
