महिनावारीमा व्यायामको नियम कति सही? विज्ञ भन्छन्– शरीरको संकेत बुझौँ

काठमाडौँ । पछिल्लो समय महिलाले आफ्नो महिनावारी चक्रअनुसार व्यायामको प्रकार र तीव्रता परिवर्तन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न सुझावहरू लोकप्रिय भइरहेका छन्।

यसलाई ‘साइकल–सिङ्किङ’ अर्थात् महिनावारी चक्रसँग व्यायाम तालमेल गराउने अभ्यासका रूपमा प्रचार गरिएको छ। टिकटक र इन्स्टाग्राममा यससम्बन्धी हजारौँ भिडियोहरू सार्वजनिक भएका छन्। कतिपय सामग्रीमा महिनावारी भएका बेला हल्का व्यायाम, चक्रको अर्को चरणमा क्रमशः व्यायामको तीव्रता बढाउने र अण्डोत्सर्जनको समयमा उच्च तीव्रताको व्यायाम गर्न सुझाव दिइएको पाइन्छ। त्यसपछि महिनावारी सुरु हुनुअघि फेरि व्यायामको तीव्रता घटाउनुपर्ने दाबी गरिन्छ। गुगलमा ‘साइकल–सिङ्किङ’ सम्बन्धी खोजी सन् २०२२ यता ७४० प्रतिशतले बढेको र टिकटकमा यससँग सम्बन्धित ५५ हजारभन्दा बढी भिडियो रहेको बीबीसीले जनाएको छ। तर यस्ता अधिकांश सुझाव चिकित्सक वा अनुसन्धानकर्ताभन्दा फिटनेस तथा वेलनेस सामग्री बनाउने व्यक्तिहरूबाट आउने गरेका छन्।

अनुसन्धानले के भन्छ?

लिड्स बेकेट विश्वविद्यालयकी महिनावारी चक्र तथा व्यायामसम्बन्धी अनुसन्धानकर्ता केली म्याकनल्टीका अनुसार केही महिलाले महिनावारी चक्रका विभिन्न चरणमा ऊर्जा, लक्षण वा आफूले महसुस गर्ने शारीरिक क्षमतामा परिवर्तन अनुभव गर्न सक्छन्। तर त्यसकै आधारमा सबै महिलाले चक्रको निश्चित चरणमा निश्चित प्रकारको व्यायाम गर्नुपर्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण भने नरहेको उनको भनाइ छ। उनका अनुसार महिनावारी चक्र व्यक्तिअनुसार फरक हुन्छ। एउटै महिलाको चक्र पनि हरेक महिनामा उस्तै नहुन सक्छ। त्यसैले सामाजिक सञ्जालमा देखाइने सबैका लागि एउटै व्यायाम तालिका व्यवहारमा लागू नहुन सक्छ। विशेषगरी अनियमित महिनावारी भएका वा हर्मोनल गर्भनिरोधक प्रयोग गर्ने महिलाका लागि निश्चित चक्रअनुसार बनाइएका व्यायाम योजनाहरू कम उपयोगी हुनसक्ने विज्ञहरूको भनाइ छ।

शरीरको संकेतअनुसार व्यायाम

अष्ट्रेलियाकी नर्स तथा फिटनेस प्रशिक्षक सेस्सी बर्गोयनले भने आफूले महिनावारी चक्रअनुसार कठोर तालिका बनाउनुको सट्टा शरीरले दिएको संकेतअनुसार व्यायामको मात्रा र तीव्रता परिवर्तन गर्ने गरेको बताएकी छन्। त्यस्तै, फिटनेस क्रिएटर सारा म्याकेका अनुसार महिनावारीका बेला ऊर्जा, प्रेरणा, दुखाइ र मुडमा परिवर्तन भए पनि सबै महिलाले त्यही समयमा कडा व्यायाम गर्नु हुँदैन भन्ने निष्कर्ष निकाल्न मिल्दैन। उनले महिनावारीकै समयमा पनि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्न सकेको अनुभव सुनाएकी छन्।

‘एकै नियम सबैलाई’ लागू गर्न नहुने

महिला स्वास्थ्य विशेषज्ञ डा. फे बेटका अनुसार महिनावारी चक्रको निश्चित चरणमा महिलाको क्षमता अनिवार्य रूपमा घट्छ वा बढ्छ भनेर सबैलाई एउटै नियम लगाउनु उचित हुँदैन। उनले कुनै निश्चित समयमा आफू कमजोर हुने विश्वास बारम्बार गराउँदा त्यसको नकारात्मक प्रभाव प्रदर्शनमै पर्नसक्ने सम्भावनासमेत औँल्याएकी छन्। अनुसन्धानकर्ता म्याकनल्टीले पनि महिनाको झन्डै आधा समय नियमित शक्ति प्रशिक्षण घटाउँदा व्यायामबाट हुने प्रगतिमा असर पर्नसक्ने बताएकी छन्। विशेषगरी महिलाका लागि शक्ति प्रशिक्षण महत्वपूर्ण भएकाले वैज्ञानिक आधारबिनाको कठोर तालिकाले व्यायामलाई नै बाधा पुर्‍याउन सक्ने उनको भनाइ छ।

‘साइकल–अवेयर’ बन्न सुझाव

विज्ञहरूका अनुसार महिनावारी चक्रअनुसार व्यायाम गर्नैपर्छ भन्ने कठोर नियमभन्दा आफ्नो शरीरमा आउने परिवर्तनबारे सचेत हुनु बढी उपयोगी हुन सक्छ। आफ्नो चक्र र त्यससँगै देखिने दुखाइ, थकान, ऊर्जा तथा मुडमा हुने परिवर्तनलाई ट्र्याक गर्दा कुन समयमा आफूलाई कस्तो व्यायाम सहज हुन्छ भन्ने बुझ्न सकिने उनीहरूको सुझाव छ। महिनावारीका बेला लक्षण बढी देखिए आराम गर्ने, असामान्य थकान महसुस भए व्यायामको तीव्रता घटाउने जस्ता व्यक्तिगत निर्णय लिन सकिन्छ। तर अत्यधिक दुखाइ, थकान वा मुडमा हुने परिवर्तनले दैनिक जीवन वा व्यायाममा नै असर पारिरहेको छ भने त्यसलाई सामान्य महिनावारीको लक्षण ठानेर बेवास्ता नगरी चिकित्सकीय सल्लाह लिन विज्ञहरूले सुझाव दिएका छन्। यसरी हेर्दा, महिनावारी चक्रसँग व्यायामलाई सचेत रूपमा मिलाउनु उपयोगी हुनसक्छ, तर चक्रको निश्चित चरणअनुसार सबै महिलाले अनिवार्य रूपमा एउटै व्यायाम गर्नुपर्छ भन्ने वैज्ञानिक आधार बलियो छैन।

Back To Top
Modern Footer Design