पशुपतिमा तीजको तयारी तीव्र, सुरक्षा र भीड व्यवस्थापनमा विशेष जोड

काठमाडौँ । हरितालिका तीज नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको व्यवस्थापन, सुरक्षा तथा सरसफाइको तयारी अघि बढाइएको छ।

पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीजमा देशका विभिन्न स्थानबाट आउने श्रद्धालुको भीडलाई व्यवस्थित गर्दै सहज र सुरक्षित रूपमा पूजा–आराधना गर्ने वातावरण बनाउन तयारी थालेको हो। यसैक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा कोष, सुरक्षा निकाय तथा सम्बन्धित विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिबीच समन्वय बैठक बसेको छ। बैठकमा सुरक्षा व्यवस्था, भक्तजनको आवागमन तथा दर्शन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइलगायत विषयमा छलफल भएको कोषले जनाएको छ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार तीजका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाइँदैछ। तीज पर्वलाई व्यवस्थित बनाउन कोषले सात वटा उपसमिति गठन गरेर तयारी अघि बढाएको छ। ती उपसमितिले सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, चन्दन वितरण, सरसफाइ तथा स्थान व्यवस्थापन, तीज व्यवस्थापन र अनुगमनलगायत जिम्मेवारी सम्हाल्नेछन्। अनुगमन उपसमितिको संयोजकमा सदस्य सचिव श्रेष्ठ रहेका छन्। सुरक्षा उपसमितिको संयोजन परिषद् सदस्य रामशोभित नायकले गर्नेछन् भने स्वयंसेवक परिचालनको जिम्मेवारी केदारमान भण्डारीलाई दिइएको छ।

त्यस्तै, दर्शन व्यवस्थापन तथा चन्दन वितरण उपसमितिको संयोजकमा गङ्गासागर बानियाँ, सरसफाइ तथा स्थान व्यवस्थापनमा रुपा शाही बास्तोला र तीज व्यवस्थापन उपसमितिको संयोजकमा सङ्गीताकुमारी राम रहेका छन्। यस वर्षको हरितालिका तीज भदौ २९ गते सोमबार परेको छ। तीजको व्रतका दिन पशुपतिनाथसहित देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको ठूलो भीड लाग्ने भएकाले सुरक्षा र दर्शन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको कोषले जनाएको छ।

Back To Top
Modern Footer Design