गाजा। गाजा सिटीमा युद्धका कारण क्षतिग्रस्त आवासीय भवन भत्किँदा २० भन्दा बढी मानिसको मृत्यु भएको छ। भग्नावशेषमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ।
स्थानीय अधिकारीका अनुसार बुधबार बिहान रिमाल क्षेत्रमा रहेको अल–सादा नामक आवासीय भवन अचानक भत्किएको हो। अल–शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाले सीएनएनलाई कम्तीमा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्। मृतकमध्ये ११ जना बालबालिका रहेको उनले बताएका छन्। गाजाको नागरिक सुरक्षा निकायका अनुसार भवनको भग्नावशेषमा करिब १०० जना बेपत्ता रहेको आशंका गरिएको छ। घटनास्थलमा खोज तथा उद्धार कार्य जारी छ।
छ तले उक्त भवनको प्रत्येक तलामा चारवटा अपार्टमेन्ट रहेको बताइएको छ। गाजामा युद्ध सुरु भएको प्रारम्भिक चरणमै उक्त भवन इजरायली हवाई आक्रमणको निशानामा परेको नागरिक सुरक्षा निकायले जनाएको छ। उक्त हवाई आक्रमण हमास नेतृत्वमा भएको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछि सुरु भएको युद्धकै क्रममा भएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व सुरु भएयता गाजाका करिब ८० प्रतिशत संरचना क्षतिग्रस्त भएका छन् भने तीमध्ये करिब दुई तिहाइ पूर्ण रूपमा ध्वस्त भएका छन्। भवन तथा आवासीय संरचनाको ठूलो क्षतिका कारण लाखौँ प्यालेस्टिनी सुरक्षित आश्रयको अभावमा छन्।
संयुक्त राष्ट्रसंघका अनुसार युद्धका क्रममा गाजाका करिब १९ लाख मानिस अर्थात् कुल जनसंख्याको झन्डै ९० प्रतिशत विस्थापित भएका छन्। धेरै मानिस पटक–पटक विस्थापित हुनुपरेको छ। हमासको गाजा मिडिया कार्यालयले उक्त भवनमा विस्थापित परिवारहरू आश्रय लिएर बसेको जनाएको छ। उसले वैकल्पिक तथा सुरक्षित आश्रयको अभावमा ती परिवार त्यहाँ बस्न बाध्य भएको दाबी गरेको छ। हमासले उद्धार कार्यका लागि आवश्यक पर्याप्त उपकरण, मेसिनरी र सामग्री गाजामा प्रवेश गर्न रोकिएको आरोप पनि लगाएको छ। इजरायलले भने भारी उपकरणसहित केही सामग्रीलाई ‘दोहोरो प्रयोग’ अर्थात् सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने वस्तुको सूचीमा राख्दै त्यसको प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ।
अधिकृत प्यालेस्टिनी भूभागका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक रामिज अलाकबारोभले गाजामा भारी मेसिनरी, इन्जिन आयल र इन्धन भित्र्याउन तत्काल अनुमति दिनुपर्ने बताएका छन्। सुरक्षित आश्रय खोज्नकै लागि कसैले आफ्नो ज्यान जोखिममा पार्न नपरोस् भन्ने उनको भनाइ छ। यसैबीच, गाजाको आवास मन्त्रालयले इजरायली आक्रमणबाट संरचनामा क्षति र चिरा परेका करिब ३ हजार भवनलाई ‘जोखिमपूर्ण’ वा भत्किन सक्ने अवस्थामा रहेको वर्गीकरण गरेको जनाएको छ। ती भवनले हजारौँ परिवारको जीवनमा प्रत्यक्ष जोखिम निम्त्याएको भन्दै तत्काल क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पहल गर्न मन्त्रालयले आग्रह गरेको छ।
गाजाको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले घटनास्थलको अवस्था ‘दुःखद र पीडादायी’ रहेको बताएका छन्। उनका अनुसार बिहान करिब ३ बजे भवनभित्र रहेका मानिसको चिच्याहट र बालबालिकाको रोदन सुनेपछि स्थानीयहरू घटनास्थलतर्फ पुगेका थिए। उनले गाजाका अन्य क्षेत्रमा पनि यस किसिमका भवन भत्किन सक्ने चेतावनी दिएका छन्, विशेषगरी अहिले नागरिकहरूले आश्रय लिइरहेका क्षतिग्रस्त संरचनाहरू जोखिममा रहेको उनको भनाइ छ।
गाजामा गत अक्टोबरमा हमास र इजरायलबीच कमजोर युद्धविराम सम्झौता भए पनि पुनर्निर्माणमा उल्लेखनीय प्रगति हुन नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। अगस्टको अन्त्यमा संयुक्त राष्ट्रसंघले गाजामा क्षतिग्रस्त भवनको संख्या अझै बढिरहेको जनाएको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम सम्झौता अघि बढाउन गठन गरिएको ‘बोर्ड अफ पिस’बाट पनि अपेक्षित प्रगति हुन नसकेको जनाइएको छ। पछिल्लो समय इजरायलबाटै उक्त पहलप्रति आलोचना भएपछि युद्धविराम कार्यान्वयन र गाजाको पुनर्निर्माणसम्बन्धी प्रयास थप जटिल बनेका छन्।
