एन्फाका कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार एन्फाको मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई नियन्त्रणमा लिएको थियो। छानबिनका क्रममा उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने भन्दै सीआईबीले अदालतसँग म्याद थपको अनुमति मागेको थियो। सोही आधारमा अदालतले थप चार दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

Back To Top
Modern Footer Design