डाटा सेन्टरमा प्राविधिक समस्या, आज सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि तय भएको नियमित सेयर कारोबार स्थगित गरेको छ।

७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान नभएपछि कारोबार रोकिएको हो। नेप्सेका अनुसार डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि सोमबार बिहानसम्म पनि अवस्था सामान्य हुन सकेन। डाटा सेन्टरमा समस्या कायमै रहेका बेला सेयर कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमै असर पर्न सक्ने जोखिम देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसँग आग्रह गरेको थियो।

ब्रोकर एसोसिएसनको आग्रह र विद्यमान अवस्थालाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो। डाटा सेन्टरको समस्या समाधान भएपछि मात्रै सेयर कारोबार पुनः नियमित रूपमा सञ्चालन हुने बताइएको छ। नेप्सेले कारोबार स्थगित गर्नुपरेको अवस्थाप्रति लगानीकर्ता तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाका लागि क्षमासमेत मागेको छ।

Back To Top
Modern Footer Design