प्रतिनिधिसभा बैठक आज, विधेयकदेखि लगानीसम्मका विषयमा छलफल हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको मुख्य बैठकअघि नै आज विभिन्न चार संसदीय समितिका बैठक पनि बस्ने भएका छन्। संसद् सचिवालयका अनुसार बिहान १० बजे अर्थ समितिको बैठक बस्नेछ। उक्त बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने तयारी छ।

सोही समयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्नेछ। समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ। यस्तै, बिहान ११ः१५ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ। बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्था र जलवायु परिवर्तनले लगानी क्षेत्रमा पारेको प्रभावबारे छलफल हुनेछ।

त्यसका साथै लगानी सम्मेलनको व्यवस्थापन, लगानीमैत्री वातावरण निर्माण तथा त्यसका लागि आवश्यक नीतिगत र कानुनी सुधारका विषयमा पनि समितिले छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै, बिहान ११ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। उक्त बैठकमा सरकारले अघि बढाएको ‘पुस्तकालय नीति’को मस्यौदाबारे विज्ञहरूसँग राय तथा सुझाव लिइने संघीय संसद् सचिवालयले जनाएको छ।

Back To Top
Modern Footer Design