पाल्पा । लगातारको वर्षासँगै पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार निरन्तरको वर्षाका कारण सडकखण्डमा पहिरो तथा बाढीको जोखिम बढेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।
दोभान–सिद्धबाबा क्षेत्र सिद्धार्थ राजमार्गको जोखिमयुक्त खण्डका रूपमा चिनिन्छ। वर्षाका बेला यस क्षेत्रमा ढुंगा खस्ने, पहिरो जाने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। बिहीबार बिहान पनि सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो। पछिल्लो अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातिको समयमा आवागमनमा रोक लगाएको जनाएको छ।
