काठमाडौं । लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तय भएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएका छन्।
असोज १० गते शनिबारका लागि निर्धारण गरिएका अधिवेशनमध्ये मौसम प्रतिकूल भएका विभिन्न जिल्लाका कार्यक्रम स्थगित गरिएका छन्। ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीलगायतका जिल्लामा अधिवेशन स्थगित भएको जनाइएको छ। ओखलढुंगामा शनिबारका लागि तय भएका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन्। नयाँ मिति तथा आगामी कार्यक्रमबारे पछि सूचना जारी गरिने जिल्ला निर्वाचन अधिकृतले जनाएका छन्।
त्यस्तै, भोजपुरमा पालिका तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। रामेछापमा भने वर्षाका कारण शनिबारको कार्यक्रम रोक्दै क्षेत्रीय अधिवेशन असोज १२ गते बिहानदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा पनि प्रतिकूल मौसमका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित भएको छ। कास्कीमा समेत केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार क्षेत्रीय अधिवेशन रोकिएको निर्वाचन अधिकृतले बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर अधिवेशन सञ्चालन गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ। मौसम अनुकूल भएका क्षेत्रमा असोज १० मै निर्वाचन गर्न र प्रतिकूल अवस्था भएका क्षेत्रमा सम्बन्धित पार्टी संरचनासँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न भनिएको छ। कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशनअन्तर्गत वडा तहका अधिवेशन सुरु गरेको थियो। केन्द्रीय निर्वाचन समितिका अनुसार ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन प्रक्रिया सम्पन्न भइसकेको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ।
