यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन् । उनी केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका गएका थिए । उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा उनले नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यका विषयमा धारणा राखेका थिए । महासभालाई सम्बोधन गर्ने क्रममा शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए । उनले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।

जलवायु संकट सिर्जना गर्न नेपालको योगदान तुलनात्मक रूपमा कम भए पनि त्यसको असर भने ठूलो रूपमा भोग्नुपरेको प्रधानमन्त्री शाहको भनाइ थियो । उनले जलवायु परिवर्तनले कुनै सीमा नमान्ने उल्लेख गर्दै हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिन सक्ने धारणा राखेका थिए । प्रधानमन्त्री शाहले जलवायु न्यायलाई केवल आर्थिक सहयोगमा सीमित गर्न नहुने बताएका थिए । उनका अनुसार हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देशका साथै भावी पुस्ताको आवाजलाई समेत अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा उचित स्थान दिन आवश्यक छ ।

Back To Top
Modern Footer Design