गुल्मी । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन्। विभिन्न स्थानमा घर तथा गोठमा क्षति पुग्नुका साथै तीन वटा पशुचौपाया मरेका छन्।
बाढी तथा पहिरोको जोखिममा परेका र घरको छानोमा क्षति पुगेका परिवारलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको पानीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरी जोखिममा परेका थिए। उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, रेसुङ्गा नगरपालिका–४ सेउघामा घरमाथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन्। तेजबहादुर खत्रीको परिवारका चार जना र एमकला खत्रीको परिवारका दुई जनालाई उद्धार गरी नजिकैको गोठमा सुरक्षित रूपमा राखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार पनि विस्थापित भएको छ।
चन्द्रकोट गाउँपालिका–४ रेमीमा खेमबहादुर कार्कीको गोठ भत्किएपछि परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। एकतले कच्ची गोठ भत्किँदा त्यहाँ बाँधिएका पाडापाडी पुरिएर मरेका छन्। मुसिकोट नगरपालिका–१ पखेरामा सुशीला विकको कच्ची गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको छ। बाढी तथा पहिरोबाट हुनसक्ने थप क्षतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा उद्धार तथा सुरक्षा गतिविधि बढाएका छन्। सम्भावित जोखिम भएका स्थानमा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कालीगण्डकीको बहाव बढेपछि रिडीका बासिन्दा सारिए
लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार तथा स्थानान्तरणका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। शनिबार बिहान नदीको पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान आग्रह गरेको छ। कालीगण्डकी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि रिडी क्षेत्रका बासिन्दामा बाढीको त्राससमेत बढेको छ।
