ललितपुर । लगातारको वर्षापछि आएको पहिरोका कारण ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्ण रूपमा भत्किएको छ।
ललितपुर महानगरपालिका–२४ स्थित प्रगति टोलमा रहेको सो घर सोमबार बिहान पहिरोले ढालेको हो। प्रहरीका अनुसार स्थानीय सोवितकुमार थापाको घर बिहान करिब ५ः३८ बजे भत्किएको हो। ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार पहिरोको जोखिममा रहेको उक्त घर खाली गर्न घरधनीलाई अघिल्लो दिन नै आग्रह गरिएको थियो। घर खाली गरिसकिएका कारण घटनामा कुनै मानवीय क्षति हुन नपाएको उनले बताए। अविरल वर्षाका कारण जमिन गलेर कमजोर बनेपछि भिरालो क्षेत्रमा निर्माण गरिएको घर पहिरोको चपेटामा परेको प्रहरीको भनाइ छ। घटनापछि थप जोखिम हुन सक्ने भएकाले आसपासको क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाइएको छ।
