काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षति पुगेका दूरसञ्चार पूर्वाधारको मर्मत तथा पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशीसहित पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी दिए। बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम भइरहेको उनको भनाइ छ। उनका अनुसार भोटेकोशी बाढीका कारण नेपाल टेलिकमका तीनवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। ती स्थानमा वैकल्पिक टावरको व्यवस्था गरेर सेवा निरन्तरता दिइएको उनले बताए।
रसुवागढी क्षेत्रमा हेलिकोप्टरमार्फत आवश्यक उपकरण पुर्याएर सोलार प्रणालीसहितको टावरसमेत सञ्चालनमा ल्याइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। त्यस्तै, पछिल्लो बाढीका कारण गण्डकी प्रदेशका ११ जिल्लामा २९१ वटा दूरसञ्चार साइटमा क्षति पुगेकोमा हालसम्म २४६ वटा साइट पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी ४५ साइटमा विद्युत् आपूर्ति सहज भएपछि सेवा सञ्चालनमा ल्याइने उनले बताए। त्यसका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली तथा जेनेरेटर परिचालन गरिएको छ।
बाढीका कारण फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा समेत क्षति पुगेको भन्दै मन्त्री तिमिल्सिनाले त्यसको मर्मत कार्य पनि अघि बढिरहेको बताए। कतिपय स्थानमा फाइबर नेटवर्क अवरुद्ध भएपछि वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिबाट दूरसञ्चार सेवा सञ्चालन गरिएको उनको भनाइ छ।
