काठमाडौँ । देशमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ।
हाल तराईका अधिकांश भूभागको मौसम भने मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। त्यस्तै राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
