सिराहामा १ हजार १०२ किलोभन्दा बढी गाँजा बरामद

सिराहा । सशस्त्र प्रहरीले सिराहाबाट १ हजार १०२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो गाडी र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरबाट खटिएको संयुक्त टोलीले गएराति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक, गागन खोलापुलबाट उक्त गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको मोटरसाइकल प्रयोग गरी गाँजा लैजाँदै गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको गाँजा २६ वटा बोरामा प्याक गरिएको थियो। तौल गर्दा कुल १ हजार १०२.६५५ किलोग्राम गाँजा रहेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिए पनि दुवै सवारीका चालक भने सामान छाडेर फरार भएका छन्। बरामद गाँजा तथा नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design