सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ।

आजका दुवै बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन तथा सांसदका प्रश्नसँग सम्बन्धित विषयहरू कार्यसूचीमा राखिएका छन्। प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन्। यस्तै, ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची छ। त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी चार विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यसै बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ। सभामुख डोलप्रसाद अर्यालले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको विवरण स्वीकृतिका लागि पेस गर्ने तथा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यक्रम पनि छ। यता, राष्ट्रियसभाको बैठकमा पनि मन्त्रीहरूले मौखिक तथा लिखित प्रश्नका उत्तर टेबुल गर्नेछन्। प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी संशोधनमा सहमति कायम गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। राष्ट्रियसभाको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ।

Back To Top
Modern Footer Design