काठमाडौं । अमेरिकाको इलिनोय राज्यमा रहेको हिन्दु मन्दिरमा सामूहिक गोलीबारी गर्ने षड्यन्त्र गरेको आशङ्कामा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले उनको घरबाट राइफल, गोली भरिएका म्यागजिन र सयौँ राउन्ड कारतुससमेत बरामद गरेको छ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार इलिनोयको ओरोरा क्षेत्रमा रहेको हिन्दु मन्दिर सम्भावित आक्रमणको निशानामा रहेको आशङ्का गरिएको छ। माउन्ट प्रोस्पेक्ट प्रहरीले एक व्यक्तिबाट प्राप्त शङ्कास्पद सन्देशका आधारमा अनुसन्धान अघि बढाएको थियो। प्रहरीले सन्देशको अनुसन्धान तथा ट्र्याकिङ गर्दै आरोपित युवकलाई उनको घरबाहिरबाट नियन्त्रणमा लिएको हो। त्यसपछि घरमा गरिएको तलासीका क्रममा हतियार तथा ठूलो परिमाणमा गोलीगट्ठा फेला परेको बताइएको छ।
घटनापछि सिकागोस्थित भारतीय महावाणिज्य दूतावासले विज्ञप्ति जारी गर्दै सम्भावित आक्रमण रोक्न समयमै कारबाही गरेकोमा अमेरिकी सुरक्षा निकायको प्रशंसा गरेको छ। साथै, त्यहाँ रहेका भारतीय समुदायका सदस्यहरूसँग निरन्तर सम्पर्कमा रहेको र घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ। प्रहरीको समयमै भएको कारबाहीका कारण सम्भावित ठूलो क्षति टरेको बताइएको छ। घटनापछि आसपासका धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
