काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
भूकम्पका कारण ३०० भन्दा बढी घरमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन्। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्म प्राप्त विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन्।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको अधिकारीहरूले बताएका छन्। उद्धार तथा राहत कार्यका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जना जनशक्ति पनि प्रभावित क्षेत्रमा खटिएका छन्। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
