साउदी अरबबाट कूटनीतिज्ञ र कर्मचारीका परिवारलाई फर्किन अमेरिकाको आदेश

काठमाडौं । साउदी अरबमा आक्रमणका घटना बढ्दै गएपछि अमेरिकाले त्यहाँ कार्यरत केही कूटनीतिज्ञ तथा अमेरिकी सरकारी कर्मचारीका परिवारलाई साउदी अरब छाड्न निर्देशन दिएको छ।

सुरक्षा जोखिम बढेपछि अमेरिकी प्रशासनले यस्तो निर्णय गरेको हो। द गार्जियनका अनुसार पछिल्ला आक्रमणमा साउदी अरबको एक विमानस्थल र तेल प्रशोधनसम्बन्धी पूर्वाधारमा क्षति पुगेको छ। ती घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ। यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले सर्वसाधारणले प्रयोग गर्ने विमानस्थललगायत संवेदनशील पूर्वाधारलाई लक्षित गरी लगातार आक्रमण गरेपछि अमेरिकाले कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको समाचारमा उल्लेख छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले कूटनीतिज्ञ तथा उनीहरूका परिवारको सुरक्षा सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्। विदेश मन्त्रालयका अनुसार उक्त निर्देशन रियादस्थित अमेरिकी दूतावाससहित साउदी अरबमा रहेका अन्य अमेरिकी कूटनीतिक नियोगमा पनि लागू हुनेछ। यसअघि इरानविरुद्ध अमेरिकाले युद्ध सुरु गरेपछि रियादस्थित अमेरिकी दूतावासमा ठूलो क्षति पुगेको थियो। त्यसपछि दूतावास सीमित कर्मचारीमार्फत सञ्चालन हुँदै आएको थियो। पछिल्ला साताहरूमा भने केही कूटनीतिज्ञ पुनः फर्किएका थिए।

एनबीसी, एएफपी र द न्युयोर्क टाइम्सलगायत सञ्चारमाध्यमले संयुक्त अरब इमिरेट्स, जोर्डन, कतार र बहराइनबाट समेत अमेरिकी कूटनीतिज्ञका परिवारलाई फिर्ता बोलाउने विषयमा समाचार प्रकाशित गरेका थिए। द न्युयोर्क टाइम्सले ट्रम्प प्रशासनले इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्ने योजना बनाइरहेको उल्लेख गरेको थियो। यद्यपि, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता पिगोटले बुधबार जारी वक्तव्यमा अन्य देशबाट अमेरिकी कर्मचारीका परिवारलाई फिर्ता बोलाइएको भन्ने समाचारलाई ‘तथ्यहीन’ बताएका छन्।

Back To Top
Modern Footer Design