आगामी चार दिन कस्तो रहला मौसम ? बिहीबार चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएसँगै हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने क्रम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी चार दिन देशका विभिन्न भूभागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ । सोमबार देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ । पहाडी तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । मङ्गलबार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

राति देशभर आंशिक बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बुधबार देशभर सामान्यतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्छ । यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार चार प्रदेशमा भारी वर्षाको सम्भावना

बिहीबार भने मौसम थप बदली हुने अनुमान गरिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ । लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा यात्रा तथा दैनिक गतिविधि गर्दा मौसमको पछिल्लो सूचना हेर्नु उपयुक्त हुनेछ ।

Back To Top
Modern Footer Design