झापामा धानबाली जोगाउन किसानलाई सकस, हात्तीको जोखिम बढेपछि सशस्त्र प्रहरी सक्रिय

झापा । धान पाक्ने समय नजिकिएसँगै झापाका किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चुनौती थपिएको छ ।

खेतबारीमा लगाएको धान भित्र्याउने तयारीमा रहेका किसानलाई हात्तीको त्रास बढेपछि सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा निगरानीसँगै जनचेतनामूलक अभियानलाई तीव्र बनाएको छ । चाडपर्वका बेला मानिसहरूको चहलपहल बढ्ने र बिहान, बेलुका तथा रातिको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले स्थानीय बस्तीमा माइकिङमार्फत सचेत गराइरहेको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न सुरक्षा सतर्कता र जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको छ । कर्माचार्यले धानबाली जोगाउने चिन्तासँगै आफ्नो सुरक्षामा पनि उत्तिकै ध्यान दिन किसान तथा स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्ने उनको भनाइ छ । हात्तीको आवतजावत हुने क्षेत्रमा सशस्त्र प्रहरीले मोबाइल तथा पैदल गस्तीमार्फत निगरानी गरिरहेको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

धानबालीको निगरानी गर्न राति खेतमा जाने र हात्ती धपाउने प्रयास गर्दा जोखिम बढ्न सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । हात्तीको बाटो छेक्ने, नजिकै गएर फोटो वा भिडियो खिच्ने तथा भीड जम्मा गरेर हात्तीलाई घेराबन्दी गर्ने गतिविधि नगर्न पनि प्रहरीले अनुरोध गरेको छ । त्यस्तै, घर, गोठ तथा आँगन आसपास हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर वरपर पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न सुझाव दिइएको छ । बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा तथा जोखिममा पर्न सक्ने अन्य व्यक्तिको सुरक्षामा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र त्यसबाट हुने क्षतिको समस्या देखिँदै आएको छ । धान भित्र्याउने समय नजिकिँदै गर्दा हात्तीको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका किसान तथा स्थानीय बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान प्रहरीले आग्रह गरेको छ ।

Back To Top
Modern Footer Design