गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ।सिरहाको गोलबजार नगरपालिकामा राजस्व संकलन र ठेक्कासम्बन्धी अनियमितताको आरोपमा तत्कालीन नगरप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर देवनाथ साह तेली, तत्कालीन उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।आयोगका अनुसार आर्थिक वर्ष २०७७ र ७८ मा वडा नम्बर ६ र ७ का पशु, बाख्रा तथा गुद्री हाटबजारबाट राजस्व उठाउने क्रममा अनियमितता भएको आरोप छ। कानुनी प्रक्रिया पूरा नगरी राजस्व छुट दिएको, सम्झौताबिनै अग्रिम रकम उठाएको र संकलित राजस्वको बाँकी रकम असुल नगरेको विषयमा आयोगले अनुसन्धान गरेको जनाएको छ।

अनुसन्धानपछि नगरसभाबाट मात्रै दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिइएको आयोगको दाबी छ। यसबाट सरकारी रकममा हानि पुगेको आरोपसमेत लगाइएको छ।आयोगले पूर्वमेयर, तत्कालीन उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो माग गरेको छ। त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा तथा ठेकेदारविरुद्ध १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ।

Back To Top
Modern Footer Design