कमलसिंह ऐरीको घातक बलिङ, चितवन राइनोजसँग विराटनगर ८ रनले स्तब्ध

काठमाडौँ ।नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले हराएको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित हात पारेको हो।विराटनगरको ब्याटिङ ध्वस्त पार्न चितवनका बलर कमलसिंह ऐरीले महत्त्वपूर्ण भूमिका खेले। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। खेल विराटनगरको पक्षमा जान सक्ने अवस्थामा कमलले १८औँ ओभरमा लगातार दुई विकेट लिएपछि खेलको दिशा बदलियो। त्यसपछि रिजन ढकालले १९औँ ओभरमा थप दुई विकेट झारे।

विराटनगरका लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोडे। लोकेश बमले २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका ओपनर डाविड मलानले ५१ बलमा ७० रनको उत्कृष्ट पारी खेले। रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे। यी दुईले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए।यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हात पारेको छ। आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

Back To Top
Modern Footer Design