काठमाडौँ ।तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग बढेको छ।
यस वर्ष तिहारका पाँच दिनमा देशभर करिब ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यान का अनुसार माला बिक्रीबाट मात्रै करिब ४८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा छ।माला मात्रै होइन, घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने फूलका थुँगा तथा गमलासमेत जोड्दा यस वर्ष तिहारमा पुष्प व्यवसायको कुल कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
यस वर्ष सबैभन्दा बढी माग सयपत्री फूलको मालाको देखिएको छ। अनुमानअनुसार ४५ लाख वटा सयपत्रीका माला बिक्री हुनेछन्, जसको थोक मूल्य करिब ४० करोड ५० लाख रुपैयाँ हुन्छ।त्यस्तै, मखमलीका ६ लाख माला, गोदावरीका २० हजार माला र विभिन्न फूल मिसाएर बनाइएका ६० हजार माला बिक्री हुने अनुमान छ। मालाबाहेक सयपत्रीका थुँगा र गोदावरीका गमलाले पनि बजारको कारोबार बढाउने अपेक्षा गरिएको छ।
नेपालमा फूल खेती पनि विस्तार हुँदै गएको छ। फ्यानका अनुसार सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ। यसले किसानको आम्दानी बढाउन र विदेशबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन सहयोग पुर्याएको छ।मखमली फूलमा नेपाल आत्मनिर्भर बनेको फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठको दाबी छ। यस वर्ष बजारमा माग हुने ६ लाख मखमली मालामध्ये करिब ४ लाख आन्तरिक बजारमा खपत हुने र २ लाख माला विदेश निर्यात हुने अनुमान गरिएको छ।यसरी तिहार नेपाली किसान र पुष्प व्यवसायीका लागि फूल बिक्री गर्ने प्रमुख अवसरका रूपमा देखिएको छ।
