सभामुखलाई भेट्न सिंहदरबार पुगे रवि लामिछाने, २० मिनेट भयो कुराकानी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। लामिछाने सभामुखलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्ष पुगेका थिए।

सभामुखको सचिवालयका अनुसार दुई जनाबीच करिब २० मिनेट कुराकानी भएको थियो। उक्त भेटलाई अनौपचारिक भनिएको छ। भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। सभापति लामिछानेको यो भेट प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको लामो छलफलको भोलिपल्ट भएको हो। बुधबार लामिछाने र प्रधानमन्त्री शाहबीच करिब चार घण्टा भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसँग चार घण्टा लामो भेटपछि सभामुखसँग पनि छलफल गर्न सिंहदरबार पुगेका लामिछानेका यी भेटहरूलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि, भेटहरूको उद्देश्य र छलफलका विषयबारे आधिकारिक रूपमा थप विवरण सार्वजनिक भएको छैन।

Back To Top
Modern Footer Design