जनकपुरधाम । सिरहा जिल्ला अदालतको परिसरबाट प्रहरीको हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश दास रहेका छन्। लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका दासलाई अदालतमा म्याद थपका लागि लगिएको थियो। गत असोज २२ गते अदालतबाट २० दिनको म्याद थपपछि प्रहरी हिरासतमा फर्काउने क्रममा उनले हतकडी फुत्काएर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार दासको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा गएराति ११ बजेर ३५ मिनेटमा नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रअन्तर्गत सिरहा नगरपालिका–१४ खिरौनाबाट उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले दासलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
