भुटानमा हिमताल फुटेपछि भारतमा त्रास, १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

भुटान। भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा रहेको हिमताल फुटेपछि आएको बाढीले भुटानसँगै भारतको पश्चिम बङ्गाल क्षेत्रमा समेत जोखिम बढाएको छ।

मो छु नदी हुँदै सङ्कोश नदीतर्फ पानीको बहाव तीव्र भएपछि भारतीय प्रशासनले नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाएको छ। सम्भावित बाढीबाट जनधनको क्षति हुन नदिन पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। नदी किनारमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ। भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गसा जिल्लाको चर्चित पर्यटकीय क्षेत्र गसा छाछुस्थित प्राकृतिक तातोपानी कुण्डका पूर्वाधारमा क्षति पुर्‍याएको छ। अहिलेसम्म मानवीय क्षति वा घाइते भएको विवरण सार्वजनिक भएको छैन।

रातिको समयमा बाढी आएकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भएको जनाइएको छ। अँध्यारो र पानीको तीव्र बहावका कारण उद्धार तथा क्षतिको मूल्यांकनमा समस्या भइरहेको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको हुन सक्ने आशंका गरिएको छ। भुटानी पत्रिका कुएनसेलका अनुसार लाया गाउँबाट तातोपानी क्षेत्र जाने सडकका केही भाग बाढीले कटान गरेपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ। उक्त सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। बाढी पुग्नुअघि नै तातोपानी क्षेत्र खाली गराइएको थियो।

हिमताल फुटेको सूचना पाएलगत्तै पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। सङ्कोश नदी र यसका सहायक नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। दार्जिलिङ र डुअर्स क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ। दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत सङ्कोश नदी तथा यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा जान अपिल गरेका छन्। भुटानको लेम्थाङमा हिमताल फुटेर मो छु हुँदै सङ्कोश नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दा सचेत हुनुपर्ने उनको भनाइ छ।

राज्यमन्त्री निसिथ प्रामाणिकले पनि भुटानमा हिमताल फुटेको खबर आएपछि सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सतर्क गराइएको बताएका छन्। बाढीको पानी ५ देखि ६ घण्टाभित्र मैदानी क्षेत्रमा पुग्न सक्ने अनुमानका आधारमा राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गरिएको उनले जानकारी दिएका छन्। अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले अवस्था प्रशासनको निगरानीमा रहेकाले अनावश्यक त्रासमा नपर्न आग्रह गरेका छन्। जिल्ला प्रशासन, भुटानी अधिकारी र अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताएका छन्। प्रभावित क्षेत्रमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) खटाइएको छ भने एनडीआरएफ र नागरिक सुरक्षा टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ।

प्रहरी प्रमुख शाहका अनुसार करिब ४ देखि ५ हजार मानिसलाई विद्यालयमा बनाइएका अस्थायी राहत शिविरमा राखिएको छ। थप ६ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। पछिल्लो विवरणअनुसार नदीमा पानीको बहाव केही कम भए पनि प्रशासनले सतर्कता घटाएको छैन। राहत शिविरमा बसोबास गर्नेहरूका लागि सुक्खा खानेकुरा, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सङ्कोश नदी आसपास रेड अलर्ट जारी गरिएको छ।

हिमतालमा जम्मा भएको पानीलाई रोक्ने प्राकृतिक बाँध फुट्दा ठूलो मात्रामा पानी एकैपटक तल्लो क्षेत्रमा बग्ने घटनालाई हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) भनिन्छ। यस्तो बाढीले हिमाली क्षेत्रमा रहेका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याउन सक्छ। भुटानको गसा जिल्लामा वाकिला पहाडको फेदीमा रहेको शिन्ताफु ताललाई त्यहाँका १७ जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ।

Back To Top
Modern Footer Design