पश्चिमी वायुको प्रभाव कायमै, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव अझै कायम रहँदा देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपाल आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गए पनि माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै छ। महाशाखाका अनुसार यसको प्रभाव क्रमशः कम हुँदै जाने र मौसममा सुधार आउने सम्भावना रहेको छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ।

सोमबार बिहान र दिउँसो पनि देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। सोमबार राति गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Back To Top
Modern Footer Design