काठमाडौं । देशका तीन फरक जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन्। खोटाङ, धनुषा र कैलालीमा छुट्टाछुट्टै घटनामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ स्थित नाङग्रे खोला बुद्धदह नजिक सुनकोशी नदी किनारमा करिब ३० वर्षीय एक पुरुषको शव फेला परेको हो। उनको पहिचान भने खुल्न सकेको छैन। त्यस्तै, धनुषाको जनकनन्दिनी गाउँपालिका–१ स्थित इनर्वा बजार नजिक सडकमा भारतको बिहार मधुवनीका ३७ वर्षीय दिलिप राम मृत अवस्थामा भेटिएका छन्।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–८ मा रहेको नालामा झापाको कनकाई नगरपालिका–५ तुल्सीवारीका २८ वर्षीय सुरज यादवको शव फेला परेको प्रहरीले जनाएको छ। तीनै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकहरूको मृत्युको कारणबारे भने थप विवरण सार्वजनिक भएको छैन।
