पश्चिमी वायुको प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षासमेत हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ। यी दुई प्रदेशका पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्नेछ । बुधबार पनि देशका विभिन्न क्षेत्रमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Back To Top
Modern Footer Design