युक्रेनको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत मारिए

काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने जापोरिजियास्थित एक विद्यालय भवनलाई लक्षित गरी शक्तिशाली बम आक्रमण गर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। घटनामा अन्य ५० जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भएको उक्त घटनालाई रुस–युक्रेन युद्धका क्रममा भएका गम्भीर आक्रमणमध्ये एक भएको बताएका छन्। स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरमा रहेको उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए। साथै, सोही स्थानबाट स्थानीय बासिन्दालाई मानवीय सहायता सामग्रीसमेत वितरण हुँदै आएको थियो। स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको सुरक्षित आश्रयस्थल थियो। गत वर्ष निर्माण सम्पन्न भएको उक्त संरचना हवाई आक्रमणबाट जोगाउने उद्देश्यले तयार पारिएको थियो। तर, शक्तिशाली बम प्रहारका कारण कङ्क्रिट संरचना क्षतिग्रस्त हुनुका साथै आगलागीसमेत भएको बताइएको छ।

युद्धका कारण विद्यालय सञ्चालनमा नरहेपछि भवनलाई प्रशासनिक कार्यालय र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो। आक्रमणको समयमा राहत सामग्री लिन स्थानीय बासिन्दाहरू त्यहाँ भेला भएका थिए। यस घटनाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले पनि चासो व्यक्त गरेको छ। मंगलबार सार्वजनिक गरिएको वक्तव्यमा आक्रमण भएको समय र स्थानबारे सर्वसाधारणलाई पहिले नै जानकारी गराइएको उल्लेख गरिएको छ। मिसन प्रमुख ड्यानियल बेलले मानवीय सहायता वितरण भइरहेको जानकारी रुसी सेनालाई रहेको भए पनि आक्रमण गरिएको वा त्यसअघि आवश्यक सावधानी नअपनाइएको हुन सक्ने बताएकी छन्। उनका अनुसार घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन भएको हुन सक्ने संकेत गर्छ।

आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत प्रभावित भएका छन्। पहिलो आक्रमणलगत्तै उद्धारकार्यमा खटिएका दुई उद्धारकर्मीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनी प्रहरीले आफ्ना चार अधिकारीसमेत मारिएको पुष्टि गरेको छ। उनीहरू भूमिगत आश्रयस्थलमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने प्रयासमा थिए। युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका तथा भवनबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणको चपेटामा परेका थिए। स्थानीय प्रशासनले आक्रमणमा केएबी–५०० र एफएबी–३००० प्रकारका बम प्रयोग भएको जनाएको छ।

यसैबीच, विद्यालय भवनमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका विभिन्न ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्। लगातारका आक्रमणपछि जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा प्रणाली थप मजबुत बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्। उनले विशेषगरी अमेरिकासँग हवाई प्रतिरक्षा प्रणाली तथा आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

Back To Top
Modern Footer Design